25, Apr, 2024

प्रेमको प्रतीक रानी महललाई ब्राण्डिङ गर्दै, स्थानीय सरकार र पर्यटन व्यवसायी

Bagmati Voice
संवाददाता
२ फाल्गुन २०७९, मंगलवार ११:२६ | १ साल अगाडी

रुपन्देही । नेपालको ताजमहल भनेर चिनिने ऐतिहासिक महत्त्व बोकेको पाल्पाको रानी महल केही समययता थप सिँगारिएको छ । प्रेमको प्रतिकका रूपमा चिनिएकाले पनि प्रेम दिवसलाई केन्द्रित गर्दै यसलाई सिँगारिएको हो ।

यही कारण पनि यो क्षेत्रलाई अहिले फरक ढंगले स्थानीय सरकार र पर्यटन व्यवसायीहरूले ब्राण्डिङ गर्न थालेका हुन् । स्थानीय सरकार तानसेन नगरपालिकाको आयोजनामा रानी महलमा नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गर्न थालिएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँ र तानसेन नगरपालिका १३, बौघागुम्हाको सीमाक्षेत्रमा रहेको रानी महलमा प्रेम दिवसमा पुग्नेलाई यस वर्ष तानसेन नगरपालिका नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टसले विशेष स्वागत गर्ने कार्यक्रम राखेको छ ।

वि.सं.१९५० सालमा पाल्पा गौडाका तैनाथवाला सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानी महल निर्माण गरेका थिए । पाल्पाको तानसेनको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ सिमानामा काली गण्डकीको किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ ।

धार्मिक र पर्यटकीय रूपले अति महत्वपूर्ण रानी महलमा जिल्ला सदरमुकाम तानसेनदेखि ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने भएपनि अहिले यहाँ पुग्ने सडक निर्माणपछि आधा घण्टामै पुग्न सकिने भएकाले तानसेनमा जाने पर्यटकहरू रानी महललाई अनिवार्य गन्तव्य बनाउन थालेका छन् ।

काली गण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कला शैलीमै छ । रानी महल दरबारको बायाँतर्फ शीतल पाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासन सत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए ।

खड्ग शमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानी महल बेवारिसे बन्न पुगेको स्थानीयको भनाइ छ ।

दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानी महल दरबारलाई ’प्रेमको प्रतीक’ का रूपमा लिइने गरिन्छ । तानसेन नगरपालिकाले चार वर्षअघि पुरातत्त्व विभागबाट व्यवस्थापनको जिम्मा लिएको हो । रानी महल र त्यस वरपरको काली गण्डकी किनारको मनमोहक दृश्य हेर्न जोडी रानी महल पुग्ने अनुभव सुनाउँछन् ।

उत्तर–दक्षिण जोड्ने काली गण्डकी कोरिडोरले रानी महललाई राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडिने क्रममा छ । स्याङ्जा र पाल्पाको संगमस्थल धार्मिक स्थल राम्दिदेखि पनि २० किलोमिट कै दूरीमा रानी महल पुग्न सकिन्छ ।

फागुन २ गते मनाइने प्रेम दिवसका दिन रानी महलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जनाएका छन् । शिवको मन्दिरमा जोडिले सिक्का साटेर आफ्नो जोडी अमर बनाउने बर माग्ने कार्यक्रम रहेको र रानी तेजकुमारीले दैनिक पूजा गर्ने यो मन्दिरमा सिक्का साटे सम्बन्ध युगौँ युग रहने विश्वास गरिन्छ ।

प्रचार प्रसारको अभावमा ऐतिहासिक रानी महल ओझेलमा परेकोले तानसेन नगरपालिकासँग सहकार्य गरी यसलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न लागिएको नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले बताइन् ।

‘भारतमा र यहाँ एकै डिजाइनमा बनेको यो कलात्मक नमुनाले इतिहासलाई जोडेको छ, अहिले हामीले यसैलाई ब्राण्डिङ गर्दैछौं, म भारत गएर पनि यसको इतिहास खोज्न थालें, अब केही नमुना काम गरेर देखाउनु छ’, पन्तले भनिन् ।

२ गते यहाँ पुग्ने २५ जोडिलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फूल साटासाट गर्ने गरी सहभागी गरिने छ । पन्तका अनुसार सहभागी विशेष २५ जोडीलाई बिहानको खाजा, दिउँसोको खाजा, साँझको खानासहित आवासको पनि व्यवस्था गरिनेछ ।

प्रेमको प्रतीकको रूपमा रहेको रानी महललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरिमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन प्रवर्द्धन गर्दै रानी महललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रम प्रभावकारी बन्ने उनीहरूको भनाइ छ ।

स्वदेश तथा विदेशबाट पुगेका युवायुवतीको जोडीलाई गुलाबको फुलको गुच्छा दिएर स्वागत गर्ने कार्यक्रम रहेको तानसेन नगरपालिकाले जनाएको छ ।

प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनि युवायुवतीले उपयोग गर्ने भएकाले पनि यसको महत्त्व छ ।

कालिनकदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर महत्त्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग शमशेर कहिले कहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भाव विह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पाका पुस्ताको भनाइ छ । १९६० सालमा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र शमशेरले थाहा पाए ।

चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्त्व पाउने गरेको छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमहलमा २४ वटा कोठा छन् ।

युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनअनुसार बनाइएको महलको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानी पोखरी, शिवलिङमा नागनागिनीले जल शेरचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला ठूला घण्टहरूसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।

काली गण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटक धेरै आउने गर्दथे ।

प्रेम दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरूको भीड लाग्ने र दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहने विश्वास मानिने भएकाले भित्तामा नाम लेख्नेहरूको होडबाजीजस्तै हुने गर्दछ ।

२ फाल्गुन २०७९, मंगलवार ११:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading