25, Apr, 2024

प्रधानमन्त्री भन्छन्, ‘अर्थतन्त्र सुधारउन्मुख छ, संकटमुक्त भइसकेको छैन’

Bagmati Voice
संवाददाता
२७ चैत्र २०७९, सोमबार १२:४९ | १ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः संकटमुक्त नरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकोले परम्परागत सोचभन्दा माथि उठेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकुन् ‘, प्रधानमन्त्रीले भने ।

अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले निजी क्षेत्रको पूर्णसहयोगको विश्वास लिएको बताए ।

सरकारले अगाडि बढाएका प्रयासबाट सामाजिक-आर्थिक क्षेत्र केही प्रगति हासिल भएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘बहुआयामिक गरिवी १७.४ प्रतिशतमा झरेको छ।

शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ। आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ । समग्र स्वास्थ्य सुविधाहरुमा जनताको पहुँचमा वृद्धि भएको छ । लैंगिक सशक्तिकरणमा उल्लेख्य सुधार भएको छ । आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको छ । विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ । सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ ।’

२७ चैत्र २०७९, सोमबार १२:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading