29, Mar, 2024

पालिका अध्यक्षले जातीय छुवाछुतलाई बढावा दिएको भन्दै सिरहामा प्रदर्शन, कारबाही हुनुपर्ने माग

Bagmati Voice
संवाददाता
२७ फाल्गुन २०७९, शनिबार १६:४० | १ साल अगाडी

जनकपुरधाम । सिरहाको गोलबजारमा आज दलित समुदायले भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले गरेको जातीय छुवाछुत विरुद्ध प्रदर्शन गरेका छन् ।

संयुक्त दलित मोर्चा सिरहाको आह्वानमा दिउँसो गोलबजारमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय दलित आयोगले अध्यक्ष यादवलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएपनि प्रशासन चुप लागेर बसेपछि दलित समुदाय आन्दोलनमा उत्रेका छन् ।

अध्यक्ष यादव विरुद्ध प्रदर्शन गर्न गाउँ(गाउँबाट दलित अगुवा र सर्वसाधारणहरु गोलबजार पुगेका थिए । उनीहरूले प्रदर्शनका क्रममा ‘हामी कहिलेसम्म अपमानित हुने ?’ प्रश्न सरकारसँग गरेका छन् ।

प्रदर्शनकारीको हातमा छुवाछुतको भोज खाएका पूर्व कानूनमन्त्री तथा एमाले सांसद लीलानाथ श्रेष्ठ र सिरहाका सिडिओ भोजराज खतिवडाको फोटोसहितको प्लेकार्ड समेत बोकेका थिए ।

उनीहरूले कतापट्टी बसेर भोज खानुभयो ? भन्दै प्रश्न समेत गरेका छन् ।

आमाको १३ औं पूण्यतिथिमा गाउँपालिका अध्यक्ष यादवले ठूलो भोज आयोजना गरेका थिए ।

स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्ति नै छुवछुतको बढावा दिएर कानूनको धज्जी उडाएको भन्दै अध्यक्ष यादवको व्यापक आलोचना भएपछि उनी आत्मालोचना गर्दै माफी समेत मागिसकेका छन् ।

तर दलित अगुवाहरुले माफी मागेर नहुने र कानूनी कारबाही हुनुपर्ने भन्दै आजदेखि आन्दोलन सुरु गरेका छन् ।

सामाजिक अभियन्ता संजय महराले अध्यक्ष यादव ठूलो अपराध गरेको भन्दै कानून बमोजिम कारबाही नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने बताए ।

२७ फाल्गुन २०७९, शनिबार १६:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading