29, Mar, 2024

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउँदा भारत सेमिफाइनलमा

Bagmati Voice
संवाददाता
२० कार्तिक २०७९, आईतवार ०९:३७ | १ साल अगाडी

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दा भारत अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । भारतले अन्तिम खेल जिम्बावेसँग आइतबारै खेल्दैछ ।

नेदरल्याण्ड्सलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने थियो । राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ ।

दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई पनि राहत भएको छ । आइतबारै हुने यी दुई एसियन राष्ट्रबीचको विजेता टिम पनि सेमिफाइनल प्रवेश गर्नेछ ।

ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिका पाँच अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।

सुरुआती तीन खेलमा अपराजित रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको दक्षिण अफ्रिका चौथो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आईसीसीको ठूला प्रतियोगितामा दक्षिण अफ्रिका अभागी बन्दै आएको छ भने यस पटक पनि त्यो शृंखलाले निरन्तरता पायो ।

नेदरल्याण्ड्सले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

एडेलेइड ओभरमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि राइले रुसोले बनाएको २५ रन नै व्यक्तिगत उच्च रह्यो । हेनरिक क्लासेनले २१ र कप्तान तेम्बा बभुमाले २० रन जोडे ।

दक्षिण अफ्रिकालाई जितबाट रोक्न दक्षिण अफ्रिकामै जन्मेर हाल नेदरल्याण्ड्सका लागि खेलेका ब्रान्डन ग्लोभरले तीन विकेट लिए । उनले २ ओभरमा ९ रन मात्र खर्चे । फ्रेड क्लासेन र बास डे लिडले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कोलिन अकरमाले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । स्टेफन माइवर्गले ३७, टम कुपरले ३५ र म्याक्स ओ डाउडले २९ रन बनाए । दषिण अफ्रिकाका केसव महाराजले २ विकेट लिए ।

२० कार्तिक २०७९, आईतवार ०९:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading