23, Apr, 2024

निर्माणको काम धमाधम भइरहेको सबस्टेसनको काम पुस भित्रै सक्ने लक्ष्य

Bagmati Voice
संवाददाता
२४ आश्विन २०७८, आईतवार १४:१० | २ साल अगाडी

सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम आगामी पुस भित्र सक्ने लक्ष्य विद्युत प्राधिकरणले लिएको छ । निर्माणको काम धमाधम भइरहेको सबस्टेसनको काम पुस भित्रै सक्ने लक्ष्य लिइएको हो ।

निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने छ । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको छ । २२०/१३२/३३ केभी सबस्टेसनका उपकरणहरु जडान भइसकेको छ । ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनको समग्र निर्माण प्रगति क्रमशः ६५ र ८५ प्रतिशत छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् ।

‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको निर्माण तत्काल सक्नु पर्ने बाध्यता छ, यस्तो मेरुदण्डको रुपमा रहेको सबस्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौं’, उनले भने ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोसी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ ।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकारको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्गत २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि भएको पुरानो ठेक्कालाई रद्ध गरी २०७५ पुसमा नयाँ ठेक्का गरिएको थियो ।

नेपाल–भारतबीच विद्युत व्यापारका लागि कुशाहा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइनको प्रस्ताव गरिएको छ । लाइन निर्माण गरिएमा इनरुवा सबस्टेसनबाटै विद्युत प्रवाह गरिने छ ।

२४ आश्विन २०७८, आईतवार १४:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading