23, Apr, 2024

धनगढीमा कोरोना खोप, पहुँचवालाको हालीमुहाली भएको स्थानीयको गुनासो

Bagmati Voice
संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १४:०९ | २ साल अगाडी

धनगढी । कोरोनाविरुद्धको खोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित नहुँदा लक्षित वर्गले सहज रुपमा खोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् ।

हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको हकमा भने उमेर समूह तोकिएको छैन ।

तर अन्य व्यक्तिहरुले पहुँचवालाले सजिलै खोप पाएको तर आफूहरुले नपाएको गुनासो गरेका छन् । यो गुनासोसँगै अव्यवस्थित भिडभाडले उल्टै संक्रमण फैलिने जोखिम पनि भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको खबर थाहा पाएपछि धनगढी उपमहानगरपालिका २ का प्रेमप्रसाद कडेल मंगलबार खोप केन्द्रमा पुगे ।
बिहान ८ बजे श्रीमान श्रीमती नै स्वास्थ्य कार्यालयले खोप लगाइरहेको धनगढीस्थित कभर्ड हलमा पुगेका थिए । उनीहरु त्यहाँ पुग्ने बेलासम्म केही मानिसहरु जम्मा भइसकेका थिए भने आउने क्रम जारी थियो ।

बिहान ८ बजे खोप केन्द्र पुगेका कडेल दम्पत्तीले दिउँसोको ४ बजेसम्म पालो पाएनन् । तर ढिलो आउने धेरैले पालो मिचेर उनीहरुकै अगाडि खोप लगाए । समय सकिएकाले अब बाँकीले भोलि आउनू भन्दै स्वास्थ्य कार्यालयले फर्काएपछि निराश हुँदै उनीहरु घरतर्फ लागे ।

कडेल दम्पत्ती अघिल्लो दिन जस्तै खोप लगाउन दोस्रो दिन बुधबार पनि बिहानै खोप केन्द्रमा पुगे । मंगलबार जस्तै दिनभर पालो कुरेर लाइनमा उभिए तर उनीहरुलाई त्यो दिन पनि पालो आएन भनेर फर्काइयो ।

बिहीबार पनि कडेल दम्पत्ती लाइन लागेको अवस्थामा कभर्ड हलस्थित खोप केन्द्रको मूल गेट बाहिर भेटिए । बिहान साढे ८ बजे त्यहाँ पुगेका उनले दिउँसो १ बज्दा पनि पालो पाएका थिएनन् । ‘अस्ती र हिजो पनि दिनभरी लाइन लागेर साँझ घर फर्किनुपर्यो,’ उनले भने, ‘आज पनि हाम्रो पालो आउला जस्तो छैन । आफ्नो कोही नभएपछि हुने यस्तै त हो नि ।

धनगढी उपमहानगरपालिका १ का विष्णुराज बुर्लाकोटी दम्पत्ती पनि बुधबार कोरोनाविरुद्धको खोप लगाइरहेको सुनेपछि कभर्ड हल पुगेका थिए । खोप लगाउन आएका सयौँ मानिसहरुको भीडमा उनीहरु पनि बिहानैदेखि लाइन लागेर खोप केन्द्रमै बसे । तर दिनभर पालो पाएनन् । साँझ ४ बजेपछि मन खल्लो बनाउँर्दै घर फर्किनुपर्यो ।

खोप पाउनु त कता हो कता, कतै त्यो भीडबाट कोरोना संक्रमण त हुने होइन भन्ने चिन्ता उनीहरुमा थपियो । ‘खोप लगाइरहेको सुनेपछि हामी बुढाबुढी पनि बुधबार बिहानै खोप केन्द्रमा पुगेका थियौं,’ बुर्लाकोटीकी श्रीमती शिवकुमारीले भनिन्, ‘तर चर्को गर्मीमा दिनभर लाइन लाग्यौँ । अन्तमा आएर कोटा पूरा भइसकेकाले अर्को दिन आउनु भनेर फर्काइयो । तर हाम्रै आँखा सामू धेरैले पालो मिचेर खोप लगाए ।

सरकारले ६० वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाउने भनेपछि धनगढीमा भने त्यसको पालना नभएकोप्रति उनीहरुको आक्रोशित भएका छन् । ‘भन्दाखेरी बृद्धबृद्धाका लागि खोप हो भन्ने तर व्यवहारमा चाहिँ उनीहरुको बेवास्ता गरेर जसको पहुँच छ, चिनेजानेका छन् उनीहरुलाई लगाउने काम भइरहेको छ,’ आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘यसरी मनपरी गर्न पाइन्छ । नियम कानूनको धज्जी उडाइएको छ । व्यवस्थापन भद्रगोल बनाइएको छ ।

धनगढीकै विकास पाठक पनि खोप लगाउन आफ्ना बुवालाई लिएर खोप केन्द्रमा पुगेका थिए । बिहीबार पानी परिरहेकै बेला छाता ओढेर उनका बुवा खोप लगाउन लाइनमा उभिएका थिए ।

बुवासँगै पालो कुरेर बसेका उनी अस्तव्यस्तता देखेर दिक्क मानिरहेका थिए । दीर्घ रोगी समेत रहेका बुवालाई खोप लगाउने नाममा भएको अव्यस्थित भीडबाट कतै कोरोना सर्छ की भन्ने चिन्ता उनको थियो ।

सरकारले भन्ने बेला ६० वर्ष माथिकालाई खोप लगाउने भन्छ तर यहाँ लाइनमा त्यो उमेर समूहका कोही पनि छैनन्,’ पाठकले भने, ‘यहाँका स्वास्थ्यका कर्मचारीले चिनेजानेका, आफन्तलाई खुसुक्क भित्र छिराएर खोप दिइरहेका छन् । लाइनमा उभिएकाहरु पालो कहिले आउने हो थाहा छैन । अर्कोतिर यस्तो अस्तव्यस्तताले संक्रमणको जोखिम बढाएको छ ।

आफन्तवाद छोडेर उमेर समूहका आधारमा व्यवस्थित तरिकाले खोप लगाउनुपर्ने सुझाव पाठकको छ । भन्छन्, ‘यहाँ अधिकांश पहुँच हुने व्यक्तिले खोप लगाइसकेका छन् । उनीहरुले फेसबुकमा आफ्नो फोटो पनि सार्वजनिक गरिरहेका छन् । तर जसको पहुँच छैन । उनीहरुले पाएकै छैनन् । मेरो पावर र पहुँच नभएकै कारण बुवालाई खोप लगाउन सकेको छैन । यस्तो विभेद हुनु भएन ।’

स्वास्थ्य कार्यालय कैलालीले भने कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रममा सरकारी मापदण्ड नमिचेको दाबी गरेको छ । कार्यालयका प्रमुख लालबहादुर धामीले अहिले ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउनुपर्ने प्रावधान भएकाले सोहीअनुसार दिइरहेको जिकीर गरे ।

‘हामीले सरकारले तोकेअनुसार ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाइरहेका छौं,’ प्रमुख धामीले अनलाइनखबरसँग भने, ‘तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको हकमा उमेर समूह नहुने भएकाले उनीहरुले लगाए होलान् ।

अहिले जिल्लाका सबै स्थानीय तहलाई खोप वितरण भइसकेकाले लगाउने र अन्य व्यवस्थापकीय काम सम्बन्धित पालिकाले नै गरिरहेको उनी बताउँछन् । धनगढी उपमहानगरपालिकाले भने व्यवस्थापकीय पक्ष केही फितलो हुँदा समस्या भएको कुरालाई स्वीकार गरेको छ ।

तर पालिकाभित्रका ६० देखि ६४ वर्ष उमेर समूहका धेरैजसो वृद्धवृद्धालाई खोप लगाइसकेको दाबी उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले खोप अभियानको पहिलो दिन व्यवस्थापनमा केही कठिनाइ भएका कारण समस्या भएको बताए ।

उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई खोप लगाउँदा अन्य व्यक्तिहरुले पनि घुसपैठ गरेपनि त्यसपछि भने मापदण्डअनुसार नै खोप लगाइएको बताए ।

सरकारले छिट्टै १८ वर्ष माथिकालाई खोप लगाउने भएकाले असारसम्म प्रायः सबैले खोप पाउने दाबी पनि उपमहानगरपालिकाले गरेको छ ।

२८ जेष्ठ २०७८, शुक्रबार १४:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading