24, Apr, 2024

दशरथ रंगशालमा ५०औं खेल खेल्दै नेपाल, पाकिस्तान तीन वर्षपछि पुनरागमन गर्दै

Bagmati Voice
संवाददाता
३० कार्तिक २०७९, बुधबार १४:०० | १ साल अगाडी

काठमाडौं । कतारमा तीन दिनपछि सुरु हुने फिफा विश्वकपले अहिले सबैको ध्यान तानेको छ । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप विभिन्न विवाद र विशेषताले गर्दा चर्चामा छ । यता विश्वकपमा पुग्नु सपना जस्तै रहेको नेपाल र पाकिस्तान भने आज मैत्रीपूर्ण खेल खेल्दैछन् । खेल साँझ ५ बजे सुरु हुनेछ ।

मैत्रीपूर्ण खेल दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने र खेलाडीलाई अवसर दिने खेलका रुपमा खेलिल्छ । तर, नेपाल र पाकिस्तान आज दशरथ रंगशालमा खेल्दा यसको छुट्टै अर्थ छ । यो खेल भन्दा पनि केही माथि छ ।

नेपालको तर्फबाट हेर्दा नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदान दशरथ रंगशालमा नेपाली राष्ट्रिय पुरुष टिमले ५०औं खेल खेल्दैछ । यो आफैंमा एउटा कोशेढुंगा हो । सन् १९८४ मा नेपालमै भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सविरुद्ध दशरथ रंगशालमा पहिलो आधिकारिक खेल खेलेको थियो । पाकिस्तानसँगको खेल दशरथ रंगशालमा नेपालको ५०औं खेल हुनेछ ।

पाकिस्तानकोतर्फबाट हेर्दा यो खेल झन् ठूलो महत्व छ । आन्तरिक किचलोका कारण फिफा निलम्बनमा परेपछि पाकिस्तानले यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ ।

पाकिस्तानले पछिल्लो पटक सन् २०१९ जुनमा विश्वकप छनोट अन्तर्गत कम्बोडियासँग दुई खेल खेलेको थियो । त्यसको झण्डै साढे तीन वर्षपछि पाकिस्तानले पहिलो खेल खेल्न लागेको हो ।

२०१८ मै बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तान पछिल्लो पटक आमनसामने भएका थिए । जुन खेल पाकिस्तानले २-१ ले जितेको थियो । उक्त खेलमा गोल गरेका हसन बसिर अहिले पाकिस्तानका कप्तान छन् । यस्तै नेपालका लागि गोल गरेका विमल घर्तीमगर पनि अहिले नेपाली टिममा छन् ।

यस्तै नेपाल र पाकिस्तानबीच सन् २०१३ मा दशरथ रंगशालमै दुई मैत्रीपूर्ण खेल भएको थियो । दुवै खेलमा पाकिस्तान १-० ले विजयी भएको थियो ।

प्रवेशको प्रशिक्षकमा डेब्यू, रोहित पहिलो पटक कप्तानी गर्दै

नेपालका प्रशिक्षक प्रवेश कटुवालले यसै खेलबाट राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यू गर्नेछन् । खेलाडीको रुपमा राष्ट्रिय टिममा खेल्न नपाए पनि मछिन्द्र क्लबलाई लगातार लिग च्याम्पियन बनाएका प्रवेशले राष्ट्रिय टिममा प्रशिक्षक बन्ने अवसर पाए । ‘मेरो लागि राष्ट्रिय टिम हेर्न पाउनु खुशीको कुरा हो । सबै प्रशिक्षकको राष्ट्रिय टिम हेर्ने ईच्छा हुन्छ र त्यसलाई खेर दिनुहुँदैन,’ प्रि म्याच कन्फ्रेन्समा प्रवेशका भनेका छन् ।

अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले हरेक मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक परिवर्तन गर्दै आएको छ । यसअघि बंगलादेश विरुद्धको खेलका लागि प्रदीप हुमागाईँलाई प्रशिक्षक बनाएको थियो ।

अहिले प्रवेश कटुवाललाई जिम्मेवारी दिइएको छ । उनले मैत्रीपूर्ण खेलका लागि तयारी गर्ने समय छोटो भएपनि जित्ने मनोबलसहित पाकिस्तान विरुद्ध खेल्ने बताए । ‘निलम्बनमा रहँदा पाकिस्तानका खेलाडीले विदेशमा खेलिरहेका छन् । तर टिम गेम खेल्न पाएका छैनन् । त्यही कमजोरीलाई हामी सदुपयोग गर्नेछौं,’ उनले भने ।

यस्तै पहिलो पटक राष्ट्रिय टिमको कप्तानी गर्न लागेका रोहित चन्दले देशको लागि खेल्नु ठूलो कुरो भएको भन्दै कप्तानी गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘आफ्नो देशलाई खेल्नु ठूलो कुरा हो । त्यसमा पनि कप्तानी गर्न पाउँदा खुशी लागेको छ । कप्तान नै हुन्छु भनेर खेलेको होइन । मैदानमा ११ जना नै कप्तान जस्तै हो । मुख्य कुरा राष्ट्रिय टिमका लागि खेल्नु ठूलो कुरा हो,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए ।

रोहितले पाकिस्तान जहिले पनि नेपालका लागि कठिन प्रतिद्वन्दी रहेको बताए । उनी भन्छन्, ‘पाकिस्तानसँगको खेलका लागि उच्च मनोबलसहित तयारी गरेका छौँ र त्यही अनुसार खेल्नेछौँ । रोहितले भने । पाकिस्तान कठिन प्रतिद्वन्दी हो र अहिल उनीहरुले राम्रो तयारी गरेका छन् । तर, हामी शतप्रतिशत दिन्छौँ । राम्रो खेल हुनेछ नतिजा भन्दा पनि ।’

रोहितले घरेलु फुटबल भइरहेको भए यो भन्दा अझ राम्रो टिम पनि बन्न सक्ने बताउँदै अहिले प्रशिक्षकले सम्भवमध्ये उत्कृष्ट टिम बनाएको बताए ।

पाकिस्तानका प्रशिक्षक सइद अनवरले छोटो समयमा खेल आयोजना गरेकोमा एन्फालाई धन्यबाद दिए । दुई महिनाको बन्द प्रशिक्षण र छनोट प्रक्रियापछि आफ्नो टिम नेपाल आएको उनको भनाई थियो । ‘पाकिस्तान फुटबल फेडेरेसन दुई वर्षदेखि संकटमा थियो । राम्रो तयारी गरेका छौं र नेपालसँग राम्रो खेल हुनेमा आशावादी छौं ।’ उनले भने । उनले निलम्बनको समयमा स्थानीय खेलहरु सन्चालन भएको बताए ।

पाकिस्तानका कप्तान हसन बसिरले नेपाली दर्शकका अगाडि खेल्न पाउनु रमाइलो अनुभूति हुने बताए ।

‘नेपालसँगको खेलका लागि तयार छौँ र राम्रो गर्ने अपेक्षा छ । नेपालसँग हाम्रो इतिहास राम्रो छ । मैले यसअघि नेपालसँग चार खेल खेल्दा राम्रो नतिजा पाएको छु । पछिल्लो पटक साफ च्याम्पियनसिपमा खेलेका थियौँ । हाम्रो आशा यसपटक पनि उच्च छ,’ बसिरले भने ।

३० कार्तिक २०७९, बुधबार १४:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading