28, Mar, 2024

थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले घेरे काठमाडौं महानगर

Bagmati Voice
संवाददाता
१३ मंसिर २०७९, मंगलवार १२:०३ | १ साल अगाडी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ ।

एकीकृत बागमती सभ्यता विकास समितिले चुनावको दिनमै अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । यो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ ।

एकीकृत वाग्मती सभ्यता विकास समितिका सुपरभाइजर सागर कटुवाल सुकुम्बासी क्षेत्रमा करिब १३६ घर टहरा हटाउनुपर्ने अवस्था रहेको बताउँछन् । समितिले नदी किनारमा रहेको सार्वजनिक भवन, किरियापुत्री भवन, साईसेवा केन्द्रका भवनहरु महानगरको सहयोगमा भत्काइसकेको छ ।

उक्त सार्वजनिक भवन भत्काएर बस्ती भत्काउने सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका बासिन्दाले माइतीघरमा विरोध सभा समेत गरेका थिए ।

१३ मंसिर २०७९, मंगलवार १२:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading