28, Mar, 2024

चुनावी घोषणापत्रमार्फत् ओलीले भने : अराजकता बढेपछि संसद विघटन गर्नुपर्ने बाध्यता भयो

Bagmati Voice
संवाददाता
१५ कार्तिक २०७९, मंगलवार १६:२७ | १ साल अगाडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु आफ्नो बाध्यात्मक परिस्थिति भएको बताएका छन् ।

मंगलबार सार्वजनिक गरेको घोषणापत्रमार्फत दुई पटक गरेको संसद विघटनको बचाउ गर्दै उनले आफ्नो बाध्यता भएको बताएका हुन् ।

संसद विघटनबारे घोषणापत्रमा लेखिएको छ, ‘जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो  ।’

नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्ति केन्द्रहरूको चलखेल सधैंभरि मुख्य बाधकका रूपमा रहँदै आएको ओलीले उल्लेख गरेका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएलगत्तै यसलाई असफल बनाउने प्रयास सुरु गरिएको दाबी गरेका छन् ।

‘तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए । उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो’, उनले भनेका छन्, ‘राष्ट्रको स्वाभीमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो ।’

ओलीले घोषणापत्रमार्फत् संसद विघटनको बचाउ गरे पनि सत्ता गठबन्धन यसैलाई मुख्य चुनावी एजेण्डा बनाएर जनतामाझ गएको छ ।

१५ कार्तिक २०७९, मंगलवार १६:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading