19, Apr, 2024

कैलाली-५ मा स्वतन्त्र उम्मेदवार चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन

Bagmati Voice
संवाददाता
१६ कार्तिक २०७९, बुधबार ०७:५५ | १ साल अगाडी

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । ‘हाम्रो पार्टीका उम्मेदवार लक्ष्मण चौधरी जीको उम्मेदवारी खारेज गरिएपछि पार्टीले आधिकारीक रुपमा निर्णय गर्दै स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गर्ने भएको हो,’ चौधरीले भने ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए । तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

लक्ष्मण २०७४ सालको निर्वाचनमा समेत कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । उन्मुक्ति पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार जगदिश त्यो बेला उनको प्रचारप्रसारमा सक्रिय थिए ।

प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीको उम्मेदवारी कायम छ । प्रदेशसभा (१) मा श्रीराम चौधरी र प्रदेशसभा (२) मा गोठुराम चौधरीले उम्मेदवारी दिएका छन् ।

१६ कार्तिक २०७९, बुधबार ०७:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading