23, Apr, 2024

ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ, पाँच वर्ष नै कायम रहन्छः पुन

Bagmati Voice
संवाददाता
२० कार्तिक २०७९, आईतवार ११:१५ | १ साल अगाडी

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए ।

०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको उनको भनाइ थियो । उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गरे ।

‘पाँच वर्ष एक ढंगले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ । अघि हिंड्नेले घमण्ड गर्दा अरुले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’

पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताए । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए । उनले भने, ‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो । मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने । सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने । स्थनीय सरकारहरुको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो । बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो । आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो ।’

ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ ।

निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरे । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरे ।

राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताए । पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ ।

विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा काँग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हातलमा सहयोग नहुने बताए । रोल्पाको प्रदेश २ मा माओवादी केन्द्रका दिपेन्द्र पुनले बागी उम्मेदवारी छन् ।

सो प्रदेशमा काँग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले काँग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।

उनले अघि भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौँ । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौँ । शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन । आपसमा मेलमिलाप गरेका छौं । रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौँ ।’

२० कार्तिक २०७९, आईतवार ११:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading