19, Apr, 2024

आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आह्वान

Bagmati Voice
संवाददाता
१५ जेष्ठ २०८०, सोमबार १५:४५ | १0 महिना अगाडी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई संवादबाट निकास खोज्न आग्रह गरेका छन् ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक मुद्दाहरू संवादबाटै समाधान भएकाले आन्दोलन छाडेर संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेको स्मरण गर्दै उनले छैटौँ वर्षको प्रारम्भमा नामकरण गरिएको बताए ।

उनले कोशी नामकरणपछि त्यसका विपक्षमा रहने पहिचानवादी शक्ति र व्यक्तिहरूले यसका विरुद्धमा कार्यक्रमहरू गरिरहेको भन्दै उनले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा शान्तिपूर्ण तवरले गर्न आग्रह गरे ।

‘तपाईँहरूका संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारसहित राखिएका नामको बारेमा तपाईँहरूको विमति भए आगामी निर्वाचन र संवैधानिक कानुनी प्रक्रिया मार्फत अघि बढ्न आह्वान गर्दछु,’ मुख्यमन्त्री कार्कीले भने, ‘तपाईँहरूले आफ्ना हिंसात्मक गतिविधि छाडेर सरकारसँग संवाद र छलफल गर्नका लागि म आह्वान पनि गर्न चाहन्छु ।’

संवाद र छलफलबाट निष्कर्षमा पुग्न सकिने भन्दै ठुलठुला राजनीतिक घटना परिघटना अन्तिममा आएर सहमतिकै माध्यमबाट नै सार्थक निष्कर्षमा पुग्न सफल भएको चर्चा गरे ।

‘हाम्रो मुलुकका जुन सामाजिक सद्भाव छ । शान्तिको वातावरण छ, त्यसलाई नबिगार्नको लागि हामी सबै संयमित हुन आवश्यक छ’ मुख्यमन्त्री कार्कीले भने ।

उनले विरोधका कार्यक्रममा घाइते हुने आन्दोलनरत पक्ष र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबेलाई आफ्नो मर्यादाभित्र रहेर शान्तिपूर्ण ढङ्गले सहमतिबाट समस्याको निकास खोज्न पनि आह्वान गरे ।

दिवसका अवसरमा कोशी प्रदेशका तीन जना पत्रकारलाई जनही एक–एक लाख नगदसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा मोहन भण्डारी, नरबहादुर लिम्बु मेन्याङवो र श्यामकृष्ण राई पुरस्कृत भएका छन्।

१५ जेष्ठ २०८०, सोमबार १५:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading