26, Apr, 2024

अहिले नेपालमा देउवा र म मिलेपछि नहुने केही छैन: प्रचण्ड

Bagmati Voice
संवाददाता
२७ कार्तिक २०७९, आईतवार १३:४३ | १ साल अगाडी

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न सकिने बताएका छन्।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताए।

उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गरेका थिए।

‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।’

उनले आफू र देउवाबीच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका थिए।

‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ,’ प्रचण्डले भने, ‘उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’

आज प्रचण्डले चुमनुब्रीका छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गरेका थिए।

२७ कार्तिक २०७९, आईतवार १३:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading