26, Apr, 2024

अपाङ्गता भएकाहरुको प्रश्न- ‘दयाको पात्र भएर कतिन्जेल भोट हालेर जिताउने ?’

Bagmati Voice
संवाददाता
२ मंसिर २०७९, शुक्रबार १२:३६ | १ साल अगाडी

विराटनगर । युवा नेत्रहिन संघ मोरङले प्रदेश १ का विभिन्न स्थानमा नमूना मतदान कार्यक्रमको आयोजना गर्‍याे । अपाङ्गता भएकाहरुले पनि सहि तरिकाले मतदान गर्न सकुन् भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा अधिकांश जाने बुझेका र पढेलेखेकै अपाङ्गता भएका व्यक्तिहरु सहभागी भए ।

तर अपाङ्गता भएकाहरुले मतदान गरेको नमूना मतदानमा बदर मत प्रतिशत भने अत्याधिक रहयो । जाने बुझेका र अपांगता अधिकारको क्षेत्रमा काम गरेकाहरु नै सहभागी नमूना मतदान कार्यक्रममा खसेको मत मध्ये ३५ प्रतिशत मत बदर भएको युवा नेत्रहिन संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले बताए ।

‘मतदान स्थललाई हामीले पूर्णरुपमा अपांगतामैत्री बनाएका थियौ तर पनि बदर प्रतिशत मत ३५ पुग्यो । धेरै जसो मतदान केन्द्रमा स्वास्तिक छाप लगाउने स्थान अध्याँरो बनाइएको हुन्छ । त्यहाँ अपाङ्गता भएकाहरुले हालेको कति मत बदर होला ? उनले प्रश्न गरे ।

अपाङ्गतामैत्री मतदान स्थल नभएको गुनासो

अपाङ्गता भएकाहरुले मतदान स्थलहरु अपाङ्गता मैत्री नभएको गुनासो गरेका छन् । संवाद समुह सुनसरीले आयोजना गरेको संवादमा सहभागी अपाङ्गता भएकाहरुले आफूहरुलाई मतदान स्थलमा आएर मतदान गर्ने अवस्था नभएको बताए ।

मतदान स्थल देखेर र सम्झिएर धेरै अपाङ्गता भएकाहरु मतदान गर्न आउँदैनन् । मतदान गर्न इच्छा भएकाहरुलाई पनि मतदान गर्न परिवारका सदस्यहरुले नलग्ने गुनासो गरे ।

अपाङ्गता अधिकारको क्षेत्रमा कार्यरत नेपाल चेलिबेटी अपांग संघकी पूर्व अध्यक्ष तृप्ता मगरले मतदान स्थललाई अपाङ्गता मैत्री बनाउने तर्फ कसैको ध्यान नगएको बताइन् ।

‘मतपेटिका सिँढी माथि र अग्लो स्थानमा राखिएको हुन्छ ।’ उनले भनिन्‘ह्वील चेयर प्रयोगकर्ताहरुलाई मत खसाउन समस्या छ । म आफै पनि ह्वीले चेयर प्रयोगकर्ता हुँ ।’ ‘मतहाल्ने दिनको दुख सम्झँदा मत हाल्नै नजाँउ जस्तो लाग्छ । मतधिकार प्रयोग गरेर जिताएपनि हाम्रा दुख कसैले देखेनन् सधै दयाको पात्र भएर कतिन्जेल मत हाल्ने’ ? उनको प्रश्न छ ।

मतदान स्थल खाल्डै खाल्डा भएको चउरमा हुन्छ । स्पाइनल कर्ड इन्जुरी भएका मानबहादुर भुजेलले ३ फीटको बारबाट भित्र छिरेर मत हाल्न सकस पर्ने गरेको बताए ।

मतदान स्थलमा अपाङ्गता भएकाहरुका लागि आवश्य पर्ने शौचालय नभएको गुनसो गरेका छन् । उनी भन्छन्, ‘लाइन बस्नुपर्छ । लाइनमा बसेको बेला शौचालय जानु पर्यो भने कहाँ जाने ? स्पाइन इन्जुरी संघ प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले सरकार र राजनीति दलहरुले अपाङ्गता भएकाको समस्या नदेखेको बताए । ‘हामी पनि मतदाता हौ भन्ने कहिले बुझ्लान् ? उनले प्रश्न गरे अपाङ्गता भएकाहरुपनि मत हाल्न आउँछन् भनेर मतदान स्थल नबनाइएको उनको दुखेसो छ ।

‘सामान्य खाल्डो त पुर्न सक्छन् नी’ उनले भने, ‘निर्वाचन आयोगले यति समान्य कुरा पनि हेर्दैन । मत हाल्ने हाम्रो पनि अधिकार हो भन्ने कहिले बुझ्लान् ?’

मोरङ सुन्दर हरैचाका भोला राई दृष्टीविहिन हुन् । उनी २०७४ को निर्वाचन देखि मतदान गर्दै आएका छन् । तर उनले हालेको मत सहि ठाँउमा खस्यो की खसेन भन्ने चिन्ता लागि रहन्छ । सहयोगीको भरमा मत हाल्नुपर्छ ।

उनले सहयोगीले मैले इच्छा गरेको चुनाव चिन्हमा मत हाल्यो की अन्तै हाल्यो भन्ने आफू अझै शंकामा रहेको बताए । निर्वाचन आयोगले दृष्टीबिहिनहरुका लागि एकै घरको व्यक्तिलाई सहयोगी राख्न पाउने व्यबस्था गरेको छ ।

अपांगता भएकाहरु सधै उपेक्षमा पर्ने नेपाल अपाङ्ग महासंघ प्रदेश १ की उपाध्यक्ष भिमा खतिवडाले बताइन् । उनका अनुसार राजनीतिक दलहरुले अपांगता भएकाहरुलाई मतदाता नै नमानेको बताइन् ।

‘हाम्रा लागि न शिक्षा छ न त हामी अनुकुलको मतदान स्थल नै ?’ उनले सुनाइन्, ‘मतदान गर्नका लागि दलहरुले घरमैमा गएर बोकेर ल्याँउछन् पुर्याउने बेलामा अलपत्र पार्छन् ।’

‘मतधिकार गर्ने र आफूले रोजेको व्यत्तिलाई चुनेर पठाउने हाम्रो पनि अधिकार छ ।’ यो अधिकारबाट राज्यले नै बञ्चित गरेको उनको गुनासो छ । ‘हामीलाई सधै दयाको पात्र बनाइयो । उनले भनिन्, हामी कतिन्जेल दयाको पात्र भएर पनि भोट दिएर जिताएर पठाउने ?

नेत्र हिन युवासंघमा आवद्ध भोला राई भन्छन्,‘अपंगता भएकाहरुलाई सबै भन्दा बढि मतदाता शिक्षाको आवश्यकता भएको भएपनि उनीहरुका लागि भनेर आसन्न निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम चलाइएन ।’ संवाद समुह सुनसरीले आयोजना गरेको संवादमा सहभागी राईले अपांगता भएकाहरुका राजनीतिक दलको प्राथमिकतामा नै नपरेको समेत गुनासो गरे ।

२ मंसिर २०७९, शुक्रबार १२:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading