
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई हटाएका हुन् ।
गोरखा २ (२) मा एमालेबाट राजु राना उम्मेदवार छन् ।
मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका थिए । उनी आफैँले ऊर्जामन्त्रालय सम्हालेका छन् ।
उनले हिजो आवश्यकता हुँदा राखेको र अहिले नहुँदा हटाएर आफ्नो अधिकार प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।
गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।
तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित आचार्य नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर, डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।
गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् ।