07, Feb, 2023

खराब सम्बन्धबीच दुई शत्रु राष्ट्र इरान र अमेरिकाको विश्वकप फुटबल भिडन्त

बागमती भ्वाइस न्युजडेस्क
१३ मंसिर २०७९, मंगलवार १५:४८ | २ महिना अगाडी

काठमाडौं । हिरासतमा राखिएकी २२ वर्षीया मेसा अमिनीको दुई महिनाअघि मृत्यु भएपछि इरानमा निरन्तर सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्।

इरानको आणविक हतियारसम्बन्धी गतिविधिलाई लिएर लगातार विरोध र ‘एक्सन’ लिइरहेको अमेरिका पछिल्लो घटनामा पनि चुप बसेको छैन । यसैको प्रभाव कतारमा जारी विश्वकपमा पनि देखिएको छ।

अमेरिका इरानको विरोध गर्न विश्वकप प्लेटफर्म प्रयोग गरिरहेको छ। आफूलाई सरकारको विरोधी दाबी गर्ने इरानीहरू समेत कतारका विभिन्न स्थानमा प्लेकार्ड र विरोध जनाउने अन्य सामग्रीसहित प्रस्तुत भइरहेका छन् । अल जजिरा, रोयर्टसलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इरानका खेलमा सुरक्षा व्यवस्था थप बलियो बनाउने गरिएको छ।

इरानको राजनीतिक विरोधका लागि विश्वकप प्रयोग हुन सक्ने सम्भावित घटनालाई कम गर्न कतारका सुरक्षा निकाय सचेत देखिएका छन्। तर पनि विरोधका स्वरहरू सतहमा देखिन कम भएका छैनन्।

अमेरिकाको फुटबल संघले इरानको झन्डाबाट अल्लाह शब्द हटाएर सामाजिक सञ्जालमा राखेको थियो जुन अहिले विवादपछि ‘डिलिट’ गरिएको छ। अमेरिकी फुटबल संघको उक्त कार्यप्रति इरान फुटबल संघले विरोध जनाउँदै विश्व फुटबल महासंघ (फिफा)मा उजुरीसमेत गरेको बताइएको छ। अमेरिका—इरानको शत्रुता निकै पुरानो हो।

कूटनीतिक विज्ञहरू तेहरान-वासिङ्टन सम्बन्ध बिग्रन सन् १९५० को दशकबाट सुरु भएको दाबी गर्छन् । सन् १९५३ मा इरानमा आम निर्वाचनबाट छनोट भएका प्रधानमन्त्री मोहम्मद मोस्सादेघलाई गरिएको सत्ता च्युत अमेरिकी योजनामा भएको अमेरिकी जासुसी संस्था सीआईएकै प्रतिवेदनमा उल्लेख छ।

इन्धनलाई आर्थिक अर्थतन्त्र बलियो बनाउन प्रयोग गर्ने मोस्सादेघको नीति बुझेर उनलाई सत्ताबाट हटाउँदै सक्रिय राजसंस्थाको पुनर्बहाली गरिएको थियो।

तत्कालीन राजा शाह मोहम्मद रेजा पल्लभीलाई ह्वाइट हाउसले समर्थन गरेको थियो ।

‘अमेरिका र उसका सहयोगीले मध्यपूर्वमा चलाइरहेको दुःखद शृङ्खलाको सुरुवात त्यही कुबाट भएको थियो’, सीआईएका पूर्व अधिकारी रोबर्ट बी बायरलाई उदृत गर्दै अल जजिरा लेख्छ, ‘अमेरिकी हस्तक्षेपकै विरोधको विस्फोटका रूपमा सन् १९७९ मा इरानमा क्रान्ति भएको थियो।’

अमेरिकासहितका पश्चिम शक्तिसँग नजिक रहेर काम गरेका पल्लभीलाई सन् १९७९ को इरानी क्रान्तिले अपदस्थ गरेको थियो। पल्लभी र राजसंस्था हटेसँगै इरानको सत्तामा अमेरिका र पश्चिमा विरोधी शक्तिले प्रवेश पाए। शासन व्यवस्थामा इस्लामीक धर्मको गहिरो प्रभाव रहन सुरु गर्‍यो।

इरान छाडेर इजिप्ट गएका पल्लभी पछि अमेरिका गएर बसे। सन् १९७९ मा इरानी क्रान्तीलाई समर्थन गरेका विधार्थीले त्यहाँ रहेको अमेरिकी दूतावास नियन्त्रणमा लिएर ५३ अमेरिकी कूटनीतिक अधिकारी र नागरिकलाई ४ सय ४४ दिन नियन्त्रणमा लिएका थिए। दुई देशबीचको बढ्दो तनावबीच सन् १९८० को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले इरानसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका थिए।

सन् १९८० को दशकमा करिब ८ वर्ष चलेको इरान-इराक युद्धमा अमेरिकाले इराकलाई समर्थन गरेको थियो। त्यस युद्धमा हजारौँको ज्यान गएको थियो। सन् १९८३ मा लेबनानको बेरुतस्थित अमेरिकी म्यारिन ब्यारेकमा भएको आत्मघाती हमलामा २ सय ४० अमेरिकी कर्मचारीको मृत्यु भएको थियो। यो घटनाको जिम्मा कसैले नलिए पनि इरानको योजनामा भएको अमेरिकी दाबी थियो।

अमेरिकाले सन् १९८४ मा आतङ्कवादलाई प्रायोजन गर्ने राज्यको सूचीमा इरानलाई पनि थप्यो। सन् १९८८ मा अमेरिकी वायु सेनाले २ सय ९० जना चढेको इरानी विमान खसालेका थिए। त्यस घटनामा विमानमा रहेका सबैको ज्यान गएको थियो। पछि इरानको सत्तामा आएका मोहम्मद खतामीले दुई देशबीचको सम्बन्ध सुधार गर्न खोजे पनि त्यो सार्थक देखिएन।

सन् १९९८ मा उनले अमेरिकी सभ्यता सम्मानजनक रहेको भन्दै अमेरिकी र पश्चिमा शासकलाई सम्बन्ध सुधारको संकेत गरेका थिए। त्यसै वर्ष आयोजना भएको विश्वकपमा इरान र अमेरिका भिडे । खेल सुरु हुनुअघि इरानी खेलाडीले विपक्षी खेलाडीलाई सेतो गुलाफ दिएर विश्वलाई नयाँ सन्देश दिने प्रयत्न गरेका थिए। उक्त खेल इरानले २-१ गोलले जितेको थियो। विश्वकप इतिहासमा उसको त्यो पहिलो जित थियो।

सन् २००१ को सेप्टेम्बर ११ मा न्यु योर्क सिटी र वासिङ्टन डिसीमा भएका दुई शक्तिशाली हमलापछि मध्यपूर्व र अमेरिकाबीचको सम्बन्ध थप चिसियो। अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले आतङ्कवादविरुद्ध युद्ध सुरु भएको घोषणा गरे।

यसले अमेरिकी सेनालाई इराक र अफगानिस्तान भित्र्याउन मात्र इरानको सिमानामा अमेरिकी सेना आएर बस्ने अवस्था बन्यो। आणविक हतियारका गतिविधिका कारण बुसले इरान, इराक र उत्तर कोरिया अमेरिका र पश्चिमाको चरम शत्रुसरह हेरिन थालिए।

इरानले आफ्नो आणविक कार्यक्रम हतियारका लागि नभएको पटक पटक प्रस्ट पारे पनि अमेरिका पत्याउन तयार देखिएन।

इरानलगायतले सञ्चालन गरेको आणविक हतियार सम्बन्धीका गतिविधिले आतङ्कवादलाई बल पुगेको दाबी अमेरिकाको थियो।

इरानको आणविक कार्यक्रमकै कारण उसलाई घेराबन्दीमा पार्न अमेरिकी योजनामा नाकाबन्दीको शृङ्खला सुरु गरियो। सन् २००९ मा बाराक ओबामाले बुसलाई र सन् २०१३ मा कट्टरपन्थी राष्ट्रपतिका रूपमा चिनिएका मोहम्मद अहमदिनेजदानलाई नरम नीतिको अख्तियार गर्ने नेताका रूपमा चिनिएका हसन रौहानीले विस्थापित गरे पनि नाकाबन्दी, शत्रुतापूर्ण व्यवहार रोकिएन।

पुनर्निर्वाचित भएपछि रौहानी र ओबामाबीच सन् २०१५ मा टेलिफोन संवाद भएको थियो। त्यतिपछि इरानले आणविक कार्यक्रम कम गर्दै लैजाने विषयमा दुई देशसहितबीच हस्ताक्षर भएको थियो। त्यसका लागि अमेरिका र उसका सहयोगीहरू नाकाबन्दी हटाउन तयार देखिएका थिए। तर डोनाल्ड ट्रम्पले सोही सहमतिलाई चुनावी एजेन्डा बनाएर सन् २०१७ मा राष्ट्रपति निर्वाचन जितेनन् मात्र त्यसको केही घण्टामा सहमति भङ्ग भएको घोषणा गरे। यसपछि इरान-अमेरिका सम्बन्ध थप बिग्रन थाल्यो।

सन् २०२० मा इराकमा रकेट आक्रमण भएपछि अमेरिकाले इरानका एक उच्च नेता क्वासेम सोलेइमानीलक्ष्यित बम हमला गरेको थियो।

इराकमा भएको रकेट आक्रमण इरानले गरेको आरोप लगाएको अमेरिकाले त्यसैको प्रतिक्रिया स्वरूप भएको बम आक्रमणमा सोलेइमानीको ज्यान गएको थियो।

त्यसपछि इरानले इराकमा रहेका अमेरिकी सेनाका आधार शिविर लक्षित गरेर आक्रमण गरेर प्रतिवाद गरेको थियो। तर इरान स्थिति चर्काउने मनस्थितिमा देखिएन। जोइ बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि यसअघि भङ्ग भएको सहमति ब्युँताउन पटक पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। अर्कोतर्फ इरानभित्रै मानवअधिकार, महिनाको स्वतन्त्रताको चरम हनन भइरहेको घटनाहरू बाहिर आइरहेका छन्।

यही पृष्ठभूमिमा इरान र अमेरिका फेरी विश्वकप फुटबलमा भिड्दै छन्। समूहगत चरणको आफ्नो अन्तिम खेलमा मङ्गलवार राती उनीहरू उत्रिन लागेका हुन्। यो खेल जित्न सके विजयी टोली अगाडि बढ्ने छ। पराजित हुने टोली घर फर्कने छ। तर यो खेल, केवल खेलमा मात्र सीमित छैन। खेलबाहिरको शक्ति संघर्ष र विवादको छायाबाट यो मुक्त हुने छैन ।

१३ मंसिर २०७९, मंगलवार १५:४८ मा प्रकाशित